‘पूर्वाधार क्षेत्रमा डिजिटल इकोसिस्टमले महत्वपूर्ण भूमिका खेल्छ’
काठमाडौं, २८ भदौ । नेपालको पूर्वाधार क्षेत्रमा डिजिटल इकोसिस्टमले महत्वपूर्ण भूमिका खेल्ने यस क्षेत्रका विज्ञहरुले बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल सरकारले आयोजना भएको नेपाल पूर्वाधार सम्मेलन २०२४ को दोस्रो दिनको ‘डिजिटल, आईसीटी एण्ड टेक्नोलोजी इन्टिग्रेसन’ सत्रमा विज्ञहरुले यस्तो बताएका हुन् ।
खासगरी विश्वका धेरै देशहरुले यसैको प्रयोग गर्दै पूर्वाधारलगायत अन्य क्षेत्रमा ठूलो फड्को मारिरहे पनि नेपालले यसको भरपूर उपयोग गर्न नसकेको उनीहरुको भनाइ छ ।
सत्रका प्रस्तुतीकरण दिदै सिकर्स सोलुसन प्रालिका प्रमुख किशोर ढुंगानाले नेपाल अन्य विकसित देशहरुको तुलनामा डिजिटल इकोसिस्टमको प्रयोगमा केही पछि रहेको बताउनुभयो । नेटवर्क रेडिनेस इन्डेक्स, गभर्मेन्ट एआई रेडिनेस इन्डेक्स, ई–गभर्मेन्ट इन्डेक्सलगायतमा नेपाल पछि रहेको र यी कुराहरुलाई तीव्रतर रुपमा सुधार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालमा सूचना प्रविधिको विकासका लागि भन्दै सरकारले नै केही नीतिगत कानुनहरु अघि बढाए पनि त्यसको उल्लेख्य कार्यान्वयन हुन नसक्दा यस्ता सूचकांकहरुमा नेपाल केही पछि परेको उहाँले बताउनुभयो । ‘पछिल्लो समय हामीले विश्व बजारमा परिचित सूचना प्रविधिसम्बन्धी पूर्वाधारको उपयोग गरी धेरै फाइदा लिन सक्छौं,’ उहाँले भन्नुभयो, ‘तर, त्यसका लागि हामी कत्तिको तयारी अवस्थामा छौं भन्ने कुरा पनि उत्तिकै ख्याल राख्नुपर्छ ।’
थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक सञ्जीत अमात्यले डिजिटल पूर्वाधार नै सबैजसो पूर्वाधार क्षेत्रको मुख्य पूर्वाधार रहेको बताउनुभयो । सूचना प्रविधिको पूर्वाधार नबनी अन्य पूर्वाधारहरु अघि बढाउन अहिलेको समयमा निकै कठिन हुने बताउँदै उहाँले सबै क्षेत्रले सूचना प्रविधि क्षेत्रको विकासमा विशेष जोड दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले निर्माण क्षेत्रमा धेरै देशहरुले सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिंग्स (आइओटी) ब्लकचेन लगायतलाई उपयोग गरिरहेको भन्दै नेपालले पनि ती देशहरुको सिको गरेर पूर्वाधार क्षेत्रमा फड्को मार्न सकिने बताउनुभयो ।
‘कुनै पनि क्षेत्रमा डिजिटल पूर्वाधारको प्रयोग गर्दै काम गर्न सकियो भने यसले समय, लागत, पछि आइपर्ने चुनौतीलगायतलाई घटाउन मद्दत गर्नेछ,’ उहाँले भन्नुभयो, ‘यसले मानिसले गर्ने धेरैजसो गल्तीहरु पनि नदोहो¥याउने देखिन्छ ।’ हाल विश्वका केही देशहरुले ठूला पूर्वाधारहरु निर्माण गर्दा डिजाइनदेखि निर्माण प्रक्रियाको रुपरेखा बनाउने समेतका काम एआईलाई दिने गरेका बताउनुभयो । यसैगरी विश्व बजारमा आएका नयाँ प्रविधि प्रयोग गरी त्यसको लाभ नेपालले पनि भरपूर लिन सक्नुपर्ने उहाँले बताउनुभयो ।
फिनल्याण्डस्थित मेट्रोपोलिया युनिभर्सिटी अफ अप्लाइड साइन्सका वरिष्ठ प्राध्यापक सुनिल सुवालले डिजिटल क्षेत्रले कुनै पनि क्षेत्रलाई डो¥याउन सक्ने भएकाले यसको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । खासगरी निर्माण क्षेत्रमा हाल हुने गरेको लागत, समय र चुनौतीहरुलाई यसले उच्चतम रुपमा घटाउन सहयोग गर्ने उहाँले बताउनुभयो । हाल इन्जिनियरिङको नयाँ आयामका रुपमा ड्रोन स्क्यानिङ प्रणाली पनि यसको अभिन्न अंग रहेको बताउँदै उहाँले डिजिटल पूर्वाधारले सबै क्षेत्रमा उत्तिकै योगदान दिन सक्ने धारणा राख्नुभयो ।
सो सत्रमा विश्व बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै विश्व बैंक अन्तर्गत डिजिटल विकास विशेषज्ञ निधि सुनिल पारेखले नेपालमा विश्व बैंकले डिजिटल रुपान्तरणका लागि सरकारसँग भरपूर सहकार्य गर्दै आएको बताउनुभयो । नेपाल सरकारले हाल अघि बढाएको राष्ट्रिय परिचयपत्र, नागरिक एपलगायत प्रणालीले नेपालीहरुलाई डिजिटल प्रविधिमा अभ्यस्त हुन सहयोग पु¥याउने बताउँदै उहाँले यस्ता परियोजनाहरुमा विश्व बैंकले सहयोग गर्ने गरेको बताउनुभयो । विश्व बैंकले हाल नेपालका लागि डिजिटल स्ट्याक परियोजनामार्फत हरेक नेपालीलाई डाटा ट्रान्सफर, डिजिटल भुक्तानी लगायतमा विश्वसनीय वातावरण बनाउने कुरामा विशेष जोड दिइरहेको उहाँले बताउनुभयो ।
नियोटेरिक नेपालका प्रबन्ध निर्देशक सञ्जय गोल्छाले नेपालको विकासमा आईटी, डिजिटल र एआईलगायतलाई अन्तरआवद्धता गर्न सकिए अर्थतन्त्रमै व्यापक सुधार ल्याउन सकिने बताउनुभयो । आफूसँग नेपालमा ३० वर्षदेखि आईटी क्षेत्रमै काम गरेको अनुभव रहेको बताउँदै उहाँले केही नीतिगत कानुनहरु सुधार्दै लैजानुपर्ने र आईटी क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नेपालमा हाल आईटी पार्क, डिजिटल इकोसिस्टमका लागि आवश्यक अन्य पूर्वाधार, बलियो इन्टरनेट सञ्जाल, गुणस्तरीय सेवालगायत आवश्यक रहेको बताउनुभयो ।
सो सत्र सभापति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सूचना प्रविधि क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार पनि तत्पर रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सकेसम्म सहजीकरण गर्दै जानुपर्ने नीति सरकारको रहे पनि अझै निजी क्षेत्रबाट भरपुर सुझावहरुको अपेक्षा गरेको बताउनुभयो । ‘सीएनआईले यस्तो कार्यक्रम आयोजना गरेर धेरै राम्रो गरेको छ,’ उहाँले भन्नुभयो, ‘यसैमार्फत निजी क्षेत्रलाई आवश्यक जति सुझावहरु दिनुहोला । सरकार ती सुझावहरुको उपयुक्त समाधान खोजेर पूरा गर्न प्रतिवद्ध छ ।’ उहाँले हाल सरकारले डिजिटाइजेसनका लागि धेरैभन्दा धेरै नीतिगत सुधारहरु गरिरहेको बताउनुभयो ।
सो सत्रको सहजीकरण वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले गर्नुभएको थियो ।