logo

‘पूर्वाधार क्षेत्रमा महिलाको सहभागिता न्यून’

‘पूर्वाधार क्षेत्रमा महिलाको सहभागिता न्यून’
काठमाडौं, २८ भदौ । पूर्वाधार क्षेत्रमा महिलाको सहभागिता ज्यादै न्यून भएको सरोकारवालाहरुले बताएका छन् । नेपाल पूर्वाधार सम्मेलन २०२४ को ‘पूर्वाधार क्षेत्रमा महिलाको लागि अवसरको सृजना’ विषयक सत्रमा सहभागीहरुले यस्तो बताएका हुन् । 
सो सत्रमा भारतीय प्राध्यापक डा. मिनिथोमसले प्राविधिक क्षेत्रमा महिलाको सहभागिता ज्यादै न्यून रहेको बताउनुभयो  । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को तथ्यांकअनुसार विश्वमा महिलाको जनसंख्या ४९.७ प्रतिशत रहेको छ । यसमा  १८ देखि ६५ वर्ष उमेर समूहका महिलाहरु पर्छन् । त्यस्तै, विश्वमा नै सबै क्षेत्रमा महिलाको उपस्थिति ४७ प्रतिशत रहेको आईएलओको तथ्यांकले देखाएको उहाँले बताउनुभयो । ‘तर, विश्वभर ऊर्जा क्षेत्रमा महिलाको उपस्थिति २२ प्रतिशत मात्रै भएको आईएलएको तथ्यांकले नै भन्छ । ३२ प्रतिशत सम्भावित ऊर्जा क्षेत्रमा महिलाको सहभागिता छ,’ उहाँले भन्नुभयो । 
साउथ एशियन मुलुकमा भने ऊर्जा क्षेत्रमा कम्तिमा सातदेखि बढीमा २४ प्रतिशतसम्म महिला सहभागिता रहेको पनि उहाँले बताउनुभयो । तर, प्राविधिक पदमा भने ०.४ देखि १० प्रतिशत महिला छन् । जुनियर तहमा ७० प्रतिशतसम्म महिला छन् भने सिनियर तहमा १ प्रतिशतभन्दा कम महिला सहभागी रहेको तथ्यांकले देखाएको उहाँले बताउनुभयो । 
युएसएड ऊर्जा नेपाल कार्यक्रमकी उषा खतिवडाले प्राविधिक क्षेत्रमा महिलाको सहभागिता कम हुनुमा मुख्य गरी तीन वटा कारण भएको बताउनुभयो । ‘उचित शिक्षा र तालिम, सरकारी नीतिको अभाव र महिलासँग कुशल जनसम्पर्क नहुनु । यी कारणले हरेक क्षेत्रमा महिलाको उपस्थिति कम छ,’ उहाँले भन्नुभयो ।
पूर्वाधार क्षेत्र पूर्ण रुपमा प्राविधिक हुन्छ । त्यसैले यसको लागि उचित शिक्षा र तालिमको आवश्यकता पर्छ । तर, नेपालजस्तो मुलुकमा छोरीलाई यस्तो खालको शिक्षा दिने परिवारको संख्या कम भएको उहाँले बताउनुभयो । सरकारी नीतिमा नै महिला प्राथमिकतामा नपर्ने गरेको पनि उहाँले बताउनुभयो । यसको मुख्य कारण भनेको नेतृत्व तहमा महिलाको उपस्थिति कम हुनु पनि हो । त्यस्तै, महिलाहरु पुरुषजस्तो जनसम्पर्क निर्माण गर्न नसक्ने पनि उहाँले बताउनुभयो । ‘हाम्रो घर परिवारमा महिलालाई जनसम्पर्क व्यवस्थापन गर्न नै सिकाइँदैन । त्यसैले पनि महिला पछाडि परेका छन्,’ उहाँले भन्नुभयो । 
नेपालस्थित अष्टे«लियन दूतावासकी विकास प्रमुख कविता कस्यनाथनले पूर्वाधार क्षेत्रमा महिलाको उपस्थिति अझै बढी हुनुपर्ने बताउनुभयो । जति पनि पूर्वाधार निर्माण भएको छ । त्यसमा पुरुषको योजनाअनुसार बनाइएको छ । तर, महिला र पुरुष फरक हुन् । महिलाको आवश्यकताअनुसार पूर्वाधारको विषयमा पुरुषले परिकल्पना गर्न सक्दैनन् । उनीहरुले आफूलाई नै सहज हुने खालका पूर्वाधार बनाउँछन् । महिलाको आवश्यकताअनुसार पूर्वाधार बनाउनका लागि महिलाको नै उपस्थिति हुनुपर्ने उहाँको भनाई थियो । अष्टे«लियन सरकारले पूर्वाधार क्षेत्रमा योगदान गर्नका लागि नेपाललगायत क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो । ‘हामीले दक्ष र सीपयुक्त जनशक्ति निर्माणका लागि काम गरिरहेका छौं,’ उहाँले भन्नुभयो । 
सिएनआईका उपाध्यक्ष निर्वाण चौधरीले सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्यमा महिलाको लागि अवसर सिर्जना गर्न सकिने बताउनुभयो । पछिल्लो दशक नेपालको पूर्वाधार क्षेत्रमा धेरै परिवर्तन भएको भन्नुहुँदै महिलाहरु पनि सशक्त हुँदै आएको बताउनुभयो । ‘महिलालाई सशक्त बनाउन धेरै काम भइसकेको छ । विभिन्न गैरसरकारी संस्थाहरुले पनि यसमा काम गरेका छन्,’ उहाँले भन्नुभयो, ‘अब भने प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बेला भएको छ ।’  
 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP