उद्योग र श्रम मन्त्रीसँग सीएनआईको छलफलः महसुस हुने गरी सरकारले काम गर्ने प्रतिबद्धता
काठमाण्डौं ।
नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । आज शुक्रबार मन्त्रीद्वयलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो ।
परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिनुहुँदै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले निरन्तर घट्दो अर्थतन्त्रलाई माथि उकास्न औद्योगिक उत्पादन, निर्माण क्षेत्र र थोक तथा खुद्रा क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो । यी क्षेत्रमा आएको निराशाका कारण समग्र अर्थतन्त्र संकुचित भएको उहाँले बताउनुभयो । युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न मुलुकमा औद्योगिकरणलाई बढावा दिइनुपर्नेमा उहाँले जोड दिनुभयो । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने र लगानी गर्न सक्ने विश्वासको वातावरण बनाइनुपर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा उद्योग मन्त्री दामोदर भण्डारीले कोभिड १९ पछि विग्रिएको अर्थतन्त्रलाई जसरी पनि उकास्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले महसुस हुनेगरी प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको भन्नुहुँदै अर्थतन्त्रको सुधार उच्च प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । यो सरकारलाई काम नगर्ने छुट नभएको भन्नुहुँदै उहाँले निजी क्षेत्रलाई स्पष्ट रुपमा समस्या र समाधानको उपाय दिन आग्रह गर्नुभयो ।
यसैगरी श्रम मन्त्री सरतसिंह भण्डारीले यो सरकारप्रति आश र भरोसा रहेको भन्नुहुँदै सोही रुपमा काम हुने बताउनुभयो । मन्त्री भण्डारीले आफूले यसअघि राखेका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने समेत बताउनुभयो ।
सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, भीम घिमिरे, उद्योग समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, रोजगारदाता परिषद् सभापति धु्रब रिजाल, महानिर्देशक डा. घनश्याम ओझालगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।